८ जेठ २०८०,
काठमाडौं ।
प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निस्कर्ष प्रहरीले निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पक्राउ पर्नेहरुलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्य विरुद्धको अपराधमा समेत मुद्दा चलाउन सकिने कार्यालयले जनाएको छ ।
प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो। सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ।
यस प्रकरणमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ भने अन्य १६ जना फरार छन् ।