२ जेठ २०८०,
काभ्रे ।
सहकारीको ३२ लाख रुपैयाँ चोरीमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुलाई आज मंगलबार सार्वजनिक गरेको हो ।
गत बैशाख १९ गते राति १ बजे पनौती नगरपालिका वडा नं ४ स्थित टौखालमा रहेको सामुदायिक साकोसको मेन गेटको ताल्चा फोरेर ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई काठमाडौंको सतुङ्गल र मकवानपुरको इन्द्रसरोबर गाँउपालिका ५ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का २४ वर्षीय अमृत थिङ, सोही वडा बस्ने २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ र सोही वडा फाखेलका ३० वर्षीय अशोक रुम्बा र फाखेलकै ३५ वर्षीय अर्पण तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैयाँ, भरुवा बन्दुक एक थान, ५ थान मोबाइल, फालमको रड लगायतका सामग्री नियन्त्रणामा लिएको छ ।
चोरीमा संलग्न अन्य २ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।