२ जेठ २०८०,
काठमाडौं ।
सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।
उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर सर्वोच्चले चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको हो ।
सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने जन्मकैदको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा ३ वर्षको मात्रै कैद सजाय सुनाइएको छ ।
त्यसैगरी प्रतिवादीमध्येका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाई दिएको छ । उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।