१ जेठ २०८०,
काठमाडौं ।
चिकित्सकहरूले लिने परामर्श शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले जेठ १ गतेदेखि लागू हुने गरी परामर्श अर्थात ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।
ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ । संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । नेपाल राष्ट्र बैठकले जारी गरेको मुद्रास्फीतिको आधारमा शुल्क बढाएको संघका अध्यक्ष डा. अनिलविक्रम कार्की जानकारी दिए ।
नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू ५१५ तोकिएको छ । यसअघि यस्तो चिकित्सकको शुल्क क्रमशः ३७० र ४५० रुपियाँ तोकिएको थियो ।
यस्तै पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू ५९० र त्योभन्दा बढी छ भने रू ६७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रू ७५० र पाँच वर्ष बढी अनुभव भएको रू ८०० शुल्क तोकिएको छ ।
यस्तै, डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्षभन्दा कम छ उनीहरूको शुल्क ८८० रुपियाँ हुने भएको छ । यसअघि उनीहरूको शुल्क ७७० रुपियाँ थियो । पाँच वर्ष माथिकाले ९४० रुपियाँ लिन सक्ने छन् ।
यस्तै, आजबाट निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्यूनतम तलब पनि बढ्ने भएको छ । यसअघि न्यूनतम तलब मासिक ४२ हजार रुपियाँ तोकिएकोमा आजदेखि न्यूनतम तलब ४८ हजार ७३७ कायम गरिएको उल्लेख छ ।