३१ बैशाख २०८०,
काठमाडौं ।
मकवानपुरको हेटौँडाबाट ठुलो परिमाणमा भन्सार छलीको जुत्ता बरामद भएको छ । हेटौडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ६ करोड भन्दा धेरैको एडिडास र सुपरस्टार जुत्ता बरामद गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ३ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जुत्ता लोड भएको ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
जुत्ताको विल विजक शङ्कास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले सो जुत्ता बरामद गरेको डिएसपी थापाले जानकारी दिए । नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।