२७ बैशाख २०८०,
काठमाडौं ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् ।
न्यूयोर्कको एउटा जुरीले ट्रम्पले एक म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको हो।
दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ। उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो।
ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्। उता, ट्रम्पले भने उनलाई ठगीको आरोप लगाएका थिए। क्यारोलले यो आदेश यौन दुव्र्यवहारको पीडा खेपेका महिलाका लागि जित भएको बताएकी छन्।
ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने जनाएका छन्। यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा धक्का लागेको छ ।