२० बैशाख २०८०,
काठमाडौं ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।
बुधबार प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिने क्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। एसएसपी कार्कीका अनुसार सन्दीपलाई बिहीबार बुटवलबाट काठमाडौं ल्याउने तयारी छ।
यसअघि प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।
मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।
यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।