१७ बैशाख २०८०,
काठमाडौं ।
एक साता अघि काठमाडौंको कपनमा भएको निरा पाण्डेको हत्या आरोपमा प्रहरीले झापाको धुलाबारीका विनोद विकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
हिजो शनिवार बेलुका झापाबाट पक्राउ परेका विकलाई निरा हत्या प्रकरणमा गठित प्रहरीको उच्चस्तरीय अनुसन्धान समितिले आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । निरा पाण्डेको हत्या चोरी गर्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।
भाँडा किन्ने बाहानामा पसलमा छिरेका विकले भाँडा देखाउने क्रममा निरा पाण्डेलाई पछाडिबाट छुरा प्रहार गरी हत्या गरेर उनले लगाएको सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुलेको प्रहरीले जनाएको छ । विकले हत्यापछि चोरी गरेका सुनका गहना बिक्री गरेको देखिएको र हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामग्रीहरू समेत भेटिएका छन् ।
सरस्वतीनगरमा भाडा पसल सञ्चालन गरिरहेकी पाण्डेको गएको वैशाख ७ गते दिउँसो हत्या भएको थियो । निरा हत्या प्रकरणबारे संसद्सहित सबैतिर विरोध भएपछि प्रहरीले वैशाख १५ गते एआईजी किरण बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाण्डौ जिल्ला प्रहरीसमेत सम्मिलित आठ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।