११ बैशाख २०८०,
काठमाडौं ।
प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकले संसदीय समिति नेतृत्वको टुंगो लगाएको छ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको तीन दलका शीर्ष नेताको बैठकले संयुक्त संसदीय समिति संसद्का दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गर्नेगरी टुंग्याएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाइ समितिमा सभापति नेपाली कांग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको बताए ।
प्रतिनिधिसभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको उनले बताए ।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको जानकारी दिए ।
उहाँले संसदीय सुनुवाइ समितिमा एमालेले चार जना सदस्य पाउने सहमति भएको बताए । चालु अधिवेशन यही वैशाख १५ गतेसम्म चल्ने पनि उनले बताए ।