९ बैशाख २०८०,
काठमाडौं ।
आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको हो ।
निर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ। निर्वाचन हुने दिनभन्दा ४८ घण्टा प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ।
यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको छ।