२३ चैत २०७९,
काठमाडौं ।
सत्ता गठबन्धनले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति गरेको जानकारी दिए ।
केही सुझाव बिहीबार साँझ ५ बजेसम्ममा प्राप्त भएपछि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको उनले बताए ।
सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य थिए ।