काभ्रे ।
काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत नमोबुद्द नगरपालिका–८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको छ ।
नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० गरी १५ सय घरधुरी लाभान्वित हुने आयोजनाको सबैभन्दा ठूलो रिजर्भायर ट्यांकीको नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडा नं ८ का अध्यक्ष शेरबहादुर लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अतुलेश्वर कर्ण लगायतले शिलान्यास गरेका हुन् ।
संघीय सरकारको १५ करोड ४७ लाख ४३ हजार १ सय ९० को लागत्तमा निर्माण हुने आयोजनाको लागि वडा न ८ को पिपलटारमा २ वटा इनार (सम्प वेल) निर्माण गरिएको छ । प्रति सेकेण्ड ६ लिटर पानी संकलन गरेर ५ स्थानमा लिफ्टिङ गरी १७ वटा टंयाकीमा जम्मा गरेर वितरण हुने उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । उच्चकोटी/अमर/नवआदर्श जेभीले निर्माणको जिम्मा पाएको छ । २०७९ मंसिर ९ गते सम्झौता भएको आयोजना २०८१ साल मंसिर २३ गते सम्पन्न गर्नुपर्नेछ ।
अध्यक्ष अधिकारीका अनुुसार, साविक डराउनेपोखरी गाविसमा रहेका दाप्चा खानेपानी उपभोक्ता समिति (स्किम नं २), डराउनेपोखरी खानेपानी उपभोक्ता समिति (क) र (ख) एकिकृत गरेर काशीखण्ड बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । साविक आयोजनाका ३ वटा टंयाकी समेत १७ वटा टंयाकी निर्माण गरिएको उपभोक्ता समितिका सदस्य रामेश्वर अधिकारीले जानकारी दिए ।