८ चैत्र २०७९,
काठमाडौं ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
प्रहरीमा नेतृत्व परिवर्तन हुन तीन दिन बाँकी रहेको समयमा आईजीपी सिंहसहित एआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दाहालले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दज्र्याही चिह्न लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले बढुवा भएका एआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा गरेको थियो।
प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानका अनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) सिंहको कार्यकाल यही ११ गते सकिँदैछ। उक्त प्रावधानमा हेरफेर नभए हाल एआईजीमा बढुवा भएका प्रहरी अधिकारीबाट नै भावी आईजीपी चयन गरिनेछ।