६ चैत्र २०७९,
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादबारेबारे महान्यायधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। जसमा रविको खराब नियत नदेखिएको भन्दै उनलाई क्लिन चिट दिइएको थियो।
सरकारी वकिल कार्यालयले रविविरुद्ध मुद्दा नचल्ने भन्दै फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचल्ने सरकारी वकिल कार्यालयको निर्णयलाई सदर गरेको हो।
नागरिकता विवादमा फसेका लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो। त्यसपछि विवाद अदालतमा पुगेको थियो।
सर्वोच्चले नागरिकता विवादमा माघ १३ गते गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो। संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको थियो।