६ चैत्र २०७९,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।
सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी भने प्रस्तावको विपक्षमा मत दिएका हुन् ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पश्चात् प्रचण्ड पुस १० गते नेकपा एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि पुस २६ गते विश्वासको मत लिएका थिए । प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।
सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।
पहिलो पटक पुस २६ गते विश्वासको मत लिदाँ प्रचण्डले कुल सदस्य २७५ मध्ये २६८ मत पाएका थिए ।