३ चैत्र २०७९,
काठमाडौं ।
उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा भएको उपराष्ट्रपति निर्वाचनमा उनी सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित निर्वाचित भएका हुन् ।
यादव जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गरिन् । जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५ मत पाइन्। यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गरेकी छिन् ।
यादवको कुल मतभार संघमा १४ हजार ५३६ र प्रदेशतर्फ १५ हजार ७९२ सहित ३० हजार ३२८ रहेको छ। शाक्यको संघतर्फ आठ हजार २१६ र प्रदेशतर्फ आठ हजार २१६ गरी कुल मतभार १६ हजार ३२८ छ।
झाको संघमा एक हजार ८१७ र प्रदेशतर्फ ७२० गरी कुल मतभार दुई हजार ५३७ छ। यसैगरी प्रमिला कुमारीको कुल मतभार ४८ रहेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघतर्फको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ।
उपराष्ट्रपति पदमा निर्वाचित यादव बाराको सिम्रौनगढ नगरपालिका–९, बसरियाको स्थानीय हुन् । उनी २०७४ को पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भएका थिए । त्यस्तै २०७९ सालमा सम्पन्न प्रतिनिधि सभामा उनी प्रत्यक्ष निर्वाचित भए । यादव गत मङ्सिर ४ मा बारा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद भएका हुन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम उपराष्ट्रपति पदमा निर्वाचित हुनेको सांसद पद भने स्वतः रिक्त हुने व्यवस्था छ।
यसैगरी, नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन् । यादवलाई संसद् भवनमा पुगेर प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् । यादवलाई प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले पनि बधाई दिएका छन् ।