नमोबुद्ध ।
नमोबुद्ध नगरपालिकाले रणनीतिक कृषि योजनाको तयारी थालेको छ ।
‘कृषि, व्यापार र पर्यटनः हाम्रो सशक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषणसहित आगामी बर्षका लागि आवद्यिक योजना, रणनीति तर्जुमा गर्न लागिएको उनले बताए ।
कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए । योजना निर्माणको लागि कार्यतालिका सहित जिम्मेवारी समेत बाँडफाँड गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिए ।
कृषि योजना तर्जुमाको लागि फोकल पर्सन तोकिएका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, नगरपालिकाले छलफल, भेटघाट, अध्ययन, दस्तावेजका आधारमा छिट्टै तथ्याकं संकलन गर्नेछ ।