२ चैत्र २०७९,
काठमाडौं ।
आईसीसी विश्वकप लिग २ मा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ । युएईलाई डिएल मेथोडमा नौ रनले पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि डिएल मथोडको आधारमा नेपाल विजयी भयो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायरमा खेल्ने पक्का भएको हो ।
नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ । आजको जितसँगै लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ । नेपालको जितले नामिबियाले भने सिधै क्वालिफायर खेल्ने पाउने छैन । आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए । नेपालले पछिल्ला १२ खेल खेलेकामा ११ वटामा विजय हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् ।