२८ फागुन २०७९,
काठमाडौं ।
माओवादी धारका नौ राजनीतिक दलहरूले आवश्यक कानुन बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसमक्ष अपिल गरेका छन् ।
आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी माओवादी धारका नौ राजनीतिक दलहरूले संयुक्त अपिल निकाल्दै आवश्यक कानुन बनाई चाँडो शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई अपिल गरेका हुन् ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (माओवादी क्रान्तिकारी) का स्थायी कमिटी सदस्य सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पालको हस्ताक्षरमा संयुक्त अपिल जारी गरिएको छ।
विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने कुरा स्पष्ट रहेको बताइएको छ।