२७ फागुन २०७९,
काठमाडौं ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
आज शनिबार संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेकपा (एमाले) बाट एक जना, जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपराष्ट्रपति पदका लागि एमालेका नेत्री अष्टलक्ष्मी शाक्य, जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको थियो ।
राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने आयोगले उल्लेख गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम) बाट उम्मेदवार हुनुपर्नेछ ।