२५ फागुन २०७९,
काठमाडोैं ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेल ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुदाँ नेम्वाङले भने १५ हजार ५१८ मत भार प्राप्त गरेका छन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।
निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।
पौडेल मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।