१८ फागुन २०७९,
काठमाडौं ।
यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा आज बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई पराजित गरेको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।
जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा १ सय ८४ रनमा समेटिएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाए ।
नेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलब ५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५१ रन बनाए ।
विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुर सहभागी थिए । नेपालले सबै खेलमा अपराजित रह्यो ।