१० फागुन २०७९,
काठमाडौं ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर आज उनले राजीनामा बुझाउने तयारी गरेका हुन् ।
नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका डीआईजी सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिस्पर्धी हुनेछन् ।
बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ । त्यही अनुसार प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति कायम गरिएको देखिएको छ ।
बढुवाको बेलामा उनको नागरिकताको विवरणअनुसार उमेर ५५ पुगिसकेको देखिन्छ भने उनले टिपाएको जन्ममितिअनुसार भने १ वर्ष कम हुन्छ । प्रहरी नियमावलीमा ५५ वर्षमा उमेर हदका कारण एसपी तथा एसएसपीले अवकाश पाउने प्रावधान छ ।