४ फागुन २०७९,
काठमाडौं ।
ग्याँस सिलिन्डर विस्फोट भई घाइते भएका सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । उपचारमा संलग्न चिकित्सकले सांसद भण्डारी र उनकी आमाको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि भारत लैजान सिफारिस गरेका छन् ।
बुधवार राती करिब १० बजेतिर ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् ।