१ फागुन २०७९,
काठमाडौं ।
नेपाल आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले तिव्र राजनीतिक भेटघाट थालेका छन्। काठमाडौं आए लगत्तै परराष्ट्र मन्त्रालयमा नेपालस्थित समकक्षी भरतराज पौड्याललाई भेटेर संवाद गरेका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि सोमबार बिहान साँढे १० काठमाडों आइपुगेका उनले सोमबार नै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न गरेका छन् । काठमाडौंस्थित याक एन्ड यति होटलमा भएको सचिवस्तरीय बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित रहेको थियो ।
क्वात्राले सोमबार नै परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने भएका छन्। उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।
क्वात्रा मंगलबार पनि भेटघाटमा सक्रिय हुने भएका छन्। उनले मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई पनि भेट्ने भएका छन्।
त्यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरुलाई पनि भेट्ने सम्भावना छ।