१ फागुन २०७९,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउनुपर्ने बताएका छन् ।
सरकारले जनयुद्ध दिवसका नाममा आज सोमवार सार्वजनिक बिदा दिएको भन्दै चौतर्फी विरोध भइरहेका बेला महामन्त्री थापाले विज्ञप्ति नै निकालेर स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको बताएका छन् । उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिँदा अराजकता देखिएको बताए ।
उनले कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोडघटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बिदा दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित भएको उनको तर्क छ ।