१९ पुस २०७९,
नमोबुद्ध, काभ्रे ।
नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो शीत भण्डार हो ।
यो सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महंगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ ।
नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रममार्फत पहिलो चरणमा ८५ लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार, पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम हुनेछ । १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्नेछन् ।
८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया कुल लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरेर पुरा गर्ने नगरपालिकाको तयारी छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जिनियर उज्वल अर्यालले जानकारी दिए ।
शीत भण्डारको शिलान्यास गर्दै नगर प्रमुख लामाले नगरका सबै वडाका कृषकका अलावा छिमेकी रोशी, तेमाल र महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुने बताए । पहिलो चरणमा बन्ने एक तल्ले भवन ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको वडाअध्यक्ष रमेश तिवारीले जानकारी दिए ।