१८ पुस २०७९,
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) ले आज सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आईस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले आफैँ जबर्जस्ती पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लङ्घन भएको जनाएका छन् । प्राधिकरणले भाडाकै निुहँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।
देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आइस्पानले आहृवान गरेको छ । विद्युत् प्राधिकरणले काठमाडौं, विराटनगर, इनरुवा, काँकडभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, भैरहवा, डोटी, ललितपुर लगायत स्थानमा इन्टरनेट सेवा प्रदायकको कार्यालयमा विद्युत् लाइन काटिदिएको आइस्पानले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायकहरुले विजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । त्यसबापत विद्युत प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ ।