१५ पुस २०७९
ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो ।
आन्द्राको क्यान्सरबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा पेलेको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।
ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ ।
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । २१ वर्षको लामो फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गोल गरेको विश्व कीर्तिमान छ ।
उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो ।