१४ पुस २०७९,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारे सामान्य छलफल भएको थियो ।
बैठकमा गठबन्धन सरकारका नीति तथा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा समिति बनाउने सहमति भएको थियो। सत्ता साझेदार दल राप्रपाले नीति तथा कार्यक्रम तयार नभई सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्षस्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठक २९ पुसमा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको स्रोतले बतायो।