६ पुस २०७९,
काठमाडौं ।
ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो । त्यस्तै १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउनसमेत आदेशमा भनिएको छ ।
शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए ।
उनलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।