२६ मंसिर २०७९,
काठमाडौं ।
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
त्यस्तै, बैठकले कालीगण्डकी करिडोर न्यु बुटवल बर्दघाट आयोजनाको २२० केभी प्रसारणलाइनका लागि वन प्रयोग गर्न अनुमति दिने निर्णय पनि गरेको सञ्चारमन्त्री काकीले बताए ।
सरकारले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने, गोदक स्वयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लष्टर) तर्फका सचिव सुरेश आचार्यलाई सहकारी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
यसैगरी, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव राम आधार साहलाई नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।