२५ मंसिर २०७९,
काठमाडौं ।
राजनीतिक दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले सोमबारसम्मको समय दिएको हो ।
दलहरुले हिजो प्रतिनिधिसभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।
प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र ५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए । त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि सोमबार दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ ।