२५ मंसिर २०७९,
काटमाडौं ।
फ्रान्स र मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका लागि औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।
चुआमेनीले खेलको १७ औँ मिनेट र जिरुडले ७८ औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको सुरुमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरी खेलमा फर्किएको थियो । उसका ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।
गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० गोलले पराजित गर्यो । मोरक्कोका युसुफ एन नेसरीले खेलको ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मोरक्को विश्व कपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी देश समेत बनेको छ ।