४ मंसिर २०७९,
काठमाडौं ।
आइतबार देशभर भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका हुन् ।
आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘‘६१ प्रतिशत मतदान भएको देखिएको छ। यो सङ्ख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’
आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार देशभर भएको निर्वाचनमा १५ स्थानमा भने मतदान हुन सकेन । निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु भएकोप्रति उनले दुःख व्यक्त गरेका छन् ।
प्रमुख आयुक्त थपलियाले मतपत्र मत गणनास्थलमा पुर्याएपछि काठमाडौं उपत्यकामा आजै र अन्य ठाउँमा प्रक्रिया पूरा गरेर तत्काल गणना सुरु गर्न निर्देशन दिएको बताएका छन् ।