बनेपा, काभ्रे ।
कसैले एक जेष्ठ नागरिकलाई सोध्छन्, ‘चुनावको माहौल के छ, बा ?’
घरको पेटीमा टुसुक्क बसेका उनले जवाफ दिन्छन्, ‘राम्रो छ बाबु’
फेरी उनलाई सोधिन्छ, ‘अरु के भइरहेको छ त ?’
उनले जवाफ दिन्छन्, ‘अब, ठिक छ, रुख चिन्हमा छाप लगाउने, शिव हुमागाईलाई जिताउने, त्यही भइरहेको छ,’
प्रश्नकर्ताले अरु भन्न नपाउँदै उनी भन्छन्, ‘विकास गर्या छ, हामीलाई बत्ती बालिदिए अन्त सांसद हुँदा पनि अनि उनलाई एक छाप नहानी हुदैन ।’
गोकुल बास्कोटाबारे चाही के थाहा छ त बा ? प्रश्नकर्र्ताका सवाल भुइमा खस्न नपाउँदै उनी भन्छन्, ‘खै हामीलाई के थाहा र, भ्रष्टाचार गर्यो भन्छन् । हामी बुढालाई के थाहा ?’
काभ्रेका एक मतदातालाई गरिएको सवालमा उनले दिएको जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विशेष गरी टिकटकमा यो भिडियोले राम्रो चर्चा पाइरहेको छ ।
भिडियोले केही कुरा संकेत गरेको छ, लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाई, विकासप्रेमी नेता हुन् । अर्को निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दा पनि जनताको समस्या बुझेर उनले विजुली बत्तीको व्यवस्थापन गरिदिए, विकासको लागि निर्वाचन क्षेत्रले उनलाई फरक पर्दैन,त्यसकारण उनलाई भोट नहालिन हुँदैन । अर्को सन्देश भनेको, काभ्रेका हरेक नागरिक (बालक देखि बृद्धासम्म)ले थाहा पाएका छन्, गोकुल बास्कोटा, ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति हुन्, उनको कारण काभ्रेको गलत पहिचान बनेको छ ।
भिडियोमा ती बृद्धाले बताए जस्तै काभ्रेका धेरै टोल बस्तीमा शिवप्रसाद हुमागाईंको नेतृत्वमा विजुली बत्ती बलेको छ । उनका प्रत्यासी उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाको गाउँ नयाँगाउँ देउपुरमा पनि हुमागाईकै नेतृत्वमा विजुली बलेको हो । सेक्युरिटी प्रेस खरिद खरिदमा ७० करोड प्रकरण मुछिएका बाँस्कोटालाई नै काभ्रेमा ‘विकासका बादशाह’ भनेर गलत प्रचार गरिएपछि मण्डनदेउपुरकै एक चुनावी कार्यक्रमा गठबन्धनका उम्मेदवार हुमागाई यसो भन्न बाध्य भए, ‘विकासको बादशाह भनेर झुटो प्रचार गराइएको छ, गर्दै नगरेको काम ड्रोन उडाएर, भिडियो बनाएर देखाइएको छ, हेक्का होस्, गोकूलजी घर जाने बाटो मैले बनाएको हो, उहाँको टोलमा बत्ती मैले बालेको हो ।’
हुमागाईले दाबी गरेजस्तै, २०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनले आफ्नो कार्यकालमा काभ्रेमा धेरै काम गरेका छन् । धेरै बस्तीमा उनकै नेतृत्व विजुली बलेको छ । २०५६ सालमा तत्कालिन क्षेत्र नं २ (हाल पनि प्रतिनिधि सभा क्षेत्र नं २ मा पर्ने सम्पूर्ण क्षेत्र) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित शिवप्रसाद हुमागाईले काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको शुरुवात र पहल गरेका थिए ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका उनले आफू विजयी भएपछि त्यसलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताउँदै आएका छन् । बनेपा बहुप्राविधिक महाविद्यालय, सूचना प्रविधि पार्क निर्माणमा अहम भूमिका खेलेका हुमागाईको गुण बनेपावासीले विर्सेका छैनन् । भकुण्डे –तेमाल सडक, बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफू उनले नै शुरु गरेका हुन् । सिपाघाटको पुल, कोशीपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई उनका कार्यकालमा सम्पन्न भएका पछि सम्म सम्झने काम हो । नौंविसे फाँट, सिपाघाटमा शुरु गरेको सिँचाईको काम अहिले पनि स्थानीयले प्रशंसा गर्ने गरेका छन् ।
यसअघि पनि काभ्रेको विकासमा योगदान गरेका शिवप्रसाद हुमागाईले आफू निर्वाचित भएपछि प्राथमिकतामा राखेर गर्ने कामको सूची पनि तयार गरिसकेका छन् । पाँचखालको सेज, पाँचखालकै बृहत्तर खानेपानी, काभ्रे एकिकृत खानेपानी, मण्डन उपत्यका खानेपानी आयोजना, हिले जलजले बहुउद्धेश्यीय ताल, हवेली–सिमथली –बेखसिम्ले सडक, बनेपा–पनौती–खोपासी–बेथानचोक हुँदै तराई जोड्ने सडक पुरा गर्ने उनको योजना छ ।
लामो समयदेखि राजनीतिमा सकृय, केन्द्रमा पहुँच राख्ने, काभ्रे कांग्रेसको नेतृत्व गर्दै केन्द्रीय सदस्य समेत भइसकेका, पूर्व सांसद, अनुभवी राजनीतिज्ञ उम्मेदवारको रुपमा पाउँदा मतदाता पनि खुशी छन् । चुनावी अभियान लिएर घरदैलो पुग्दा उनीसहित गठबन्धनका उम्मेदवारले न्यायो स्वागत पाइरहेका छन् । बाक्लो उपस्थिती, बाजागाजा, घर घरमा घडा, गालाभरी मालाले हुमागाईको उम्मेदवारीमा स्थानीयले साथ दिइरहेका छन् । वेदाग रुपमा निष्ठा र इमान्दारिताको राजनीति गरिरहेका हुमागाईलाई मतदाताले प्रतिनिधी सभा सदस्यको रुपमा हेर्न चाहेका छन् । ‘पहिला जित्दा पनि विकासका धेरै काम गर्नुभयो, अब पनि यस्तै गर्नुहोला,’ बनेपाको घरदैलोमा एक मतदाताले भने, ‘त्यही कारण तपाईलाई यसकारण जिताउनैपर्छ, हामी भ्रष्ट हैन, प्रष्ट नेता चाहन्छौं, तपाईको विकल्प छैन ।’