Google search engine

रासायनिक मलको समस्या समाधानको लागि गठबन्धनको प्रतिवद्धता

२३ कात्तिक २०७९,
मण्डनदेउपुर ।

लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार शिवप्रसाद हुमागाईले रासायनिक मलको समस्या समाधानको लागि आफूले पहल गरिरहेको बताएका छन् । गठबन्धनले मण्डनदेउपुरको जोगिटारमा गरेको कोण सभालाई सम्वोधन गर्दै हुमागाईले यो मौसममा रासायनिक मल कम खपत हुने हिमाली जिल्लामा मौज्दात रहेको मल ल्याएर काभ्रे जिल्लामा मलको समस्या समाधान गर्ने बताएका हुन् ।

‘एमालेले अघिल्लो चुनावमा नै रासायनिक मल कारखाना बनाउने प्रतिवद्धता जनाएको थियो, तर पुरा गरेन,’ उनले भने, ‘म कारखाना नै खोल्छु त भन्दिन तर अहिले मल खपत कम हुने जिल्लामा मौज्दात भएको मल काभ्रे ल्याउन सहजीकरण गरिरहेका छौं ।’ उनले सो क्षेत्रको सिचाईको योजना सम्पन्न गर्ने भन्दै हिगुवापाटी–दोलालघाट सडक आफ्नो कार्यकालमा कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानभन्दा आफू माथि रहेको सोचेको कारण लोकतान्त्रिक–बाम गठबन्धन बनेको भन्दै उनले मुलुकभर गठबन्धनको पक्षमा लहर भएको बताए ।

संविधान सभा सदस्य रहेका नेकपा (एकिकृत समाजवादी) का पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटाले २०७४ सालमा एमालेको घोषणापत्रमा समावेश भएका चुनावी प्रतिवद्धता कुनै पनि पुरा नभएको बताए । ‘२०७४ सालमा एमालेको घोषणापत्रमा मल कारखाना खोल्ने, १५ बर्ष भन्दा मुनि र ६५ बर्ष माथीकालाई निशुल्क स्वास्थ सेवा दिने भन्ने थियो, घोषणापत्रका कुनै पनि कुरा पूरा भएनन्,’ उनले भने, ‘ हामीले जेल–नेल गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था केपि ओलिले तहसनहस पारे, संसद विघटन गरे, पुनःस्थापना भएपछी चल्न दिएन, मुलुक अप्ठ्यारोमा परेको बेला कांग्रेस–कम्युनिस्टबिच गठबन्धन बनेको इतिहास छ, संविधान जोगाउन यो गठबन्धन बनेको हो ।’ दिउसो समाजवादको कुरा गरेर बेलुका दलाल पुजीवादीसंग साठगाठ गर्नेको अडियो टेप सार्वजनिक भएको भन्दै उनले मतदाताको अपमान गर्नेलाई पुन त्यो अवसर नदिन अनुरोध गरे ।

गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार लक्ष्मण लम्सालले अघिल्लो पटक निर्वाचित गराउँदा पनि आफूले काम गरेको भन्दै फेरि पनि सोही क्षेत्रको विकासको लागि काम गर्ने प्रतिवद्धता जनाए । स्थानीयलाई योजना ल्याउन अनुरोध गर्दै उनले आफूले विकासको लागि समन्वय गर्ने बताए । प्रतिनिधि सभा समानुपातिक उम्मेदवार रहेकी माओवादी केन्द्रकी मिना तामाङले अघिल्लो पटक दुई तिहाईको सरकारले काम गर्न नसकेको भन्दै यो पटक गठबन्धन जिताउनुको विकल्प नभएको बताए ।

माओवादी केन्द्र मण्डनदेउपुर १० का वडा कमिटी अध्यक्ष कृष्णप्रसाद नेपालले संविधान जोगाउन गठबन्धनको आवस्यकता महशुस भएको भन्दै दुई तिहाई नेतृत्वको सरकार किन भत्काएको भन्दै प्रश्न गरे ।

नेपाली कांग्रेसका वडा सभापति हरिबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसबाट प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार लक्ष्मी दनुवार, शान्ता थापा क्षेत्री, माओवादी केन्द्रकी प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार रुकु चौलागाईं, नेपाल समाजवादी पार्टीको नेतृ अनिता थिङ लगायत गठबन्धन सम्बद्ध दलका जिल्ला, नगर र वडाका नेता कार्यकर्ताको उपस्थिती भएको थियो ।

मण्डनदेउपुर नगरपालिका वडा नं १२ हलेदेटारमा भएको घरदैलोमा गठबन्धनका उम्मेदवारलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय