१६ कात्तिक २०७९,
काठमाडौं ।
बालिका बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । बयान सकिएसँगै आज बुधबार थुनछेक बहस सुरू भएको हो ।
आज इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। बुधबारको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटा लगायतले बहस गरेका थिए ।
१७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
थुनछेक बहस भोलि पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।