Google search engine

रुपन्देही–२ मा गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा

४ कात्तिक २०७९,
काठमाडौं ।

सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ ।

अदालतले सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउँ भनि माग गर्दै दायर गरेको रिट खारेज गरेको हो ।

योसँगै गुरुङले उम्मेदवारका लागि गरेको दौड सकिएको छ । रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले गुरुङ उम्मेदवार हुन अयोग्य भएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयको सो निर्णयविरुद्ध गुरुङ असोज २७ गते रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । उनले रिट निवेदनमा कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था ‘नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालि’ मात्र रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका थिए ।

तर, दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार विष्णु पौडेललाई सहज बनाएको छ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय