३ कात्तिक २०७९,
बनेपा, काभ्रे ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक–बाम गठबन्धनले बिहिबारबाट चुनावी घरदैलो अभियान थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै गठबन्धनले घरदैलो अभियान थालेको हो ।
प्रतिनिधि सभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा (क) र (ख) दुबै क्षेत्रमा घरदैलो शुरु भएको छ । प्रदेश सभा क्षेत्र न १ (क) मा नमोबुद्ध ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ । प्रदेश सभा १ (क) का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट थालेको हो । प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरी त्यो अवसर दिनको लागि अनुरोध गरे ।
प्रदेश सभा क्षेत्र नं १ ९ख० मा वडा नं ५ शिसाखानीबाट घरदैलो शुरु भएको प्रदेश सभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिए । सो क्षेत्रमा गठबन्धन दलका तर्फबाट कांग्रेस उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले घरदैलो थालेका हुन् । प्रत्यक्षतर्फका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताए । सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान शुरु गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं २ मा पनि लोकतान्त्रिक–बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् ।
स्थानीयको अपेक्षा सुनेपछि प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँमागाईले एमालेले आश्वासन मात्रै दिएर बाँकी रहेको काम आफूले पूरा गर्ने बताए । भूम्लुका जनताको समस्या आफ्नो समस्या भएको भन्दै उनले लोकतान्त्रिक–बाम गठबन्धनले समाधान गर्ने बताए । प्रदेश सभा २ (ख)ले पनि बेथानचोक गाउँपालिकामा घरदैलो र भेटघाट गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार हुमागाईसहित प्रदेश सभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य रहेका एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, विदुरप्रसाद सापकोटा, माओवादी केन्द्रका मिना तामाङ, समानुपातिक उम्मेदवार भोला अर्याल, सुरकृष्ण बैद्य, कांग्रेस नेता इन्द्रमणि अधिकारी, अच्युतप्रसाद पौडेल, प्रेमबहादुर तिमल्सिना लगायत गठबन्धनका नेताहरुले संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार छ । प्रतिनिधि सभा क्षेत्र नं १ मा ३५ जना र प्रतिनिधि सभा क्षेत्र नं २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ९ जना र प्रदेश सभा सदस्य (ख) का लागि ९ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ६ जना र प्रदेश सभा सदस्य (ख) का लागि ७ जना उम्मेदवार रहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक–बाम गठबन्धनबाट ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरु संसदीय क्षेत्रमा अनुभवी छन् । गठबन्धनको मत, संविधानको रक्षा र शान्ति, सुशासन र विकासको लागि काभ्रेली मतदाताले गठबन्धनलाई मतदान गरी जिताउने उनीहरुको अपेक्षा थियो ।