२७ असोज २०७९,
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।
नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले चारै मन्त्रीलाई बर्खास्त गरेका हुन् । चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन् ।
यसैगरी, प्रधानमन्त्री देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा भने मन्त्री सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कानुनमन्त्री गोविन्दप्रसाद कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा कार्कीलाई दिइएको हो ।