९ असोज २०७९
काठमाडौं ।
सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ । असोज ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले सरकारले संस्कतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने, राष्ट्रिय शतर्कता केन्द्र शतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको आटवामा २०७९, असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत दिने, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।