१ असोज २०७९,
काठमाडौं ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले राणालाई महाभियोग लगाउन सिफारिस गर्ने निर्णय गरेको हो।
राणालाई महाभियोग सिफारिस गर्ने निर्णयविरुद्ध नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले भने फरक मत राखेका छन्। एमालेले ८ बुँदे फरक मत राखेको हो। ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् ।
समितिको सदस्य रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सिफारिस समितिको प्रतिवेदनलाई गठबन्धनको पुलिन्दा भन्दै प्रतिवेदन मान्न नसकिने बताएका छन् । उनले जबराविरुद्ध छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको बताए ।