१ असोज २०७९
काठमाडौं ।
प्रतिनिधिसभाको चालु ११ औँ अधिवेशन आज राति १२ देखि अन्त्य हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
सङ्घीय संसद् प्रतिनिधि सभाको एघारौँ अधिवेशनको पहिलो बैठक २०७९ साल जेठ ३ गते मंगलबार बसेको थियो । यो अधिवेशनको अन्तिम बैठक २०७९ साल असोज १ गते शनिबार बसेको हो । संसद् जम्मा १२४ दिन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६८ पटक बैठक बसेर जम्मा २५१ घण्टा १५ मिनेट संसदीय कारबाहीमा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार यही अधिवेशनमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक दुई पटक गरेर चार घण्टा ४५ मिनेट बसेको छ।