२९ भदौ २०७९
काठमाडौं ।
महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरुलाई समितिमा बोलाउने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका पूर्व प्रधानन्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो।
समितिको बैठकपछि बोल्दै महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम सङ्कलन गरिरहेको बताए । उनले बिहीवार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरुलाई बोलाउने समय निर्धारण गर्ने बताएका छन् ।
प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ।
तर, समितिले छलफलका लागि बोलाएका ६ जना बहालवाला न्यायाधीशहरु समितिमा नजाने भएका छन्। बहालवाला न्यायाधीश संसदीय सुनुवाई बाहेक अन्यमा जान नमिल्ने भन्दै उनीहरुले समितिको बैठकमा उपस्थित नहुने बताएका हुन्। बहालवाला न्यायाधीशहरु दीपक कुमार कार्की, हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा, आनन्दवन भट्टराई र हरि फुँयाललाई समितिले बलाएको थियो।