१९ भदौ २०७९,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर तिर्न सात वटा क्यासिनोलाई पत्र पठाएको छ ।
आइतवार एक पत्र पठाउँदै महानगरपालिकाले आर्थिक वर्ष २०७५ ७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई कर बुझाउन पत्र पठाएको हो ।
होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग, होटल एल्फटको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न भनिएको छ । सात दिनभित्र कर नतिरे कारबाही गर्ने महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको छ ।
ती क्यासिनोहरुले पटक पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरले जनाएको छ । वाग्मती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको छ ।