१७ भदौ २०७९,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् ।
लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई शुक्रबार सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले कुनै ठाउँबाट चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरे । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं ।’
कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएपछि महामन्त्री थापाले त्यसको जवाफमा यस्तो बताएका हुन् । उनले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताए ।