८ भदौ २०७९
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने कुरा नबिर्सन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । बुधबार एमाले अध्यक्ष ओली उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।
अध्यक्ष ओलीले भेटवार्तामा प्रधानमन्त्रीसँग चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि वारे चासो राखेका थिए ।
भेटवार्तामा सहभागी अर्का नेताका अनुसार सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधन सम्बन्धी विधेयक छलफलका लागि पेश गरेपनि तार्किक निष्कर्षमा पुग्नेमा एमालेले आशंका गरेको छ ।
अध्यक्ष ओलीले चुनाव विश्वसनीय हुनेमा आशंका पैदा भएको र सत्ता गठबन्धनले दम्भ देखाएको आरोप समेत लगाएका छन् ।