५ भदौ २०७९
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, भनेकी छिन् । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गरेकी छिन् ।
यस्तै, नेता गिरीको निधनप्रति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको उनले बताएका छन् । अध्यक्ष ओलीले गिरीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
नेता गिरीको निधनप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाली राजनीतिक बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तकलाई गुमाएको भन्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।