३१ साउन २०७९
काठमाडौं ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् ।
आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए । गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने जिकिर गरे ।
नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको उनको जिकिर थियो । उनले भने, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नका लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो ।’
हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको गौतमले दाबी गरे । इमानदारिताका साथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको उनको जिकिर थियो ।
चुनाव जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे ।
मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो ।